५० हजार घुससहित सई र प्रहरी जवान पक्राउ

काठमाडौं, पुस १७ । ५० हजार घुससहित एक जना सई र प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव पक्राउ परेका हु्न ।

सिंह र यादवलाई सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूले भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग घुस माग गरेको, रकम नदिएमा लागूऔषध मुद्दा चलाउने भनी धम्काइ कुटपिटसमेत गरेको पाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

दुवै आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो ५० हजार रुपैयाँ कायम र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्