अब घर भाडामा लिनेदिने दुवैले प्रहरीलाई अनिवार्य विवरण दिनैपर्ने
काठमाडौं । अब घर भाडामा लिनेदिने दुवैले प्रहरीलाई अनिवार्य विवरण दिनैपर्ने भएको छ ।
काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य सहरी क्षेत्रहरूमा घरभाडामा दिने र लिने दुवैको विवरण प्रहरीलाई दिनुपर्ने भएको गृहमन्त्रालयले निर्णय गरेको छ ।
केही दिनअघि बसेको गृहको बैठकले घर भाडामा लिएर विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता अपराध बढेको भन्दै प्रहरीलाई विवरण बुझाउनुपर्ने निर्णय गरेको हो ।
घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि पनि सरकारले यस्तो कदम चालेको हो ।
स्थानीय प्रहरी एकाइमा अनिवार्य रूपमा दिने र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवं अद्यावधिक अभिलेख राख्ने बैठकले निर्णय गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका बताए ।
भट्टराईका अनुसार यो निर्णयले समग्र शान्ति सु–व्यवस्थामा सहयोग पुग्नेछ । उनका अनुसार अब घर भाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण र छाडेको विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।















प्रतिक्रिया दिनुहोस्