मानव तस्करी बढ्दोः बेच्न लगेका २४२ जना महिला र बालबालिको उद्धार
काठमाडौं, पुस १५ । पछिल्लो समय मानव तस्किरी बढ्दै गएको छ । प्रत्येक वर्ष ३५ हजार नेपाली बिचिने गरेको एक अध्यनले देखाएको छ । यसैबीच नेपाल- भारत सीमानाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ ।
एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो । भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका छन् ।
महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग बढिरहेको माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाको अध्ययनले देखाएको छ ।मानव तस्करहरुले महिला र बालदबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।
माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेका छन् ।माइती नेपाल क्षेत्रीय कार्यालय प्रमुख माया क्षेत्रीका अनुसार आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् ।
खुला सीमा नाका भएको कारणले रुपन्देहीको बेलहिया नाकामा बेचबेखिनको उच्च जोखिम बढेको ‘उनले बताइन् । ‘आकर्षक रोजगारी र बिहे गर्ने प्रलोभनमा पारेर विभिन्न गिरोहले आफ्नै नातेदारको बहाना बनाएर भारतका विभिन्न स्थानमा बेचबिखनका लागि र्पुयाउने गरेका छन्,’ क्षेत्रीले भनिन्, ‘ भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ ।’
घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको क्षेत्रीले बताइन् ।उद्धार गरिएका महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयमूलक काममा लगाउन माइती नेपालले सहयोग गर्दै आएको छ ।
मानव बेचबिखनमा मानव तस्करहरु सक्रिय भइरहँदा उद्धारमा खटिने एउटा पनि सरकारी संयन्त्र गठन हुन नसकेको तथा मानव बेचबिखन नियन्त्रणमा स्थानीय र प्रदेश सरकार पनि गम्भीर नभएको माइती नेपालको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्