हिमपात र वर्षाको सम्भावनाः आगामी तिनदिनको मौसम यस्तो छ

काठमाडौँ , पुस १५ । काठमाडौं लगाएत देशका विभिन्न भागमा चिसो बढेको छ । दिनानुदिन बढेको चिसोले जनजिवन प्रभावित भएको छ । उता तराइका जिल्लामा हुस्सु र शितलहरले त्यहाँको जिवन पनि प्रभावित हुन पुगेको छ ।

यसैबीच जम्मु–कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने भएको छ। यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाका अनुसार यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको छ।

उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भइ तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ। यो प्रणालीले शुक्रबार समेत वर्षा र हिमपात गराउने सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया दिनुहोस्