७ जना हतियारसहित पक्राउः वन्यजन्तु चोरी शिकारीमा संलग्न

काठमाडौं , पुस ११ । प्रहरीले वन्यजन्तु चोरी शिकारीमा संलग्न ७ जनालाई हतियारसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा अवैध घरेलु एक नाले बन्दुकसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ गरेकालाई प्रहरीले वन्यजन्तुका छाला, हतियारसहित सार्वजनिक गरेको छ।

लेकाली भेगमा चिसो बढेसँगै प्रत्येक वर्ष अवैध चोरी शिकारी हुने गरेको छ। हिउँ परेपछि जंगली जनावर वेशी झर्ने र सोही मौका छोपेर स्थानीयले अवैध हतियार प्रयोग गरि वन्यजन्तु चोरी शिकारी गर्ने गरेका छन्। कानुनले वन्यजन्तु चोरी शिकारी अवैध मानेको छ।

पक्राउ परेका ७ जना बुढीनन्दा नगरपालिका पाण्डुसैनका रहेका छन्। चोरी शिकारी गरिरहेकै अवस्थामा जंगलबाटै पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्। प्रहरीले चिसोमा चोरी शिकारी बढ्ने आशंकामा व्यापक प्रहरी परिचालन गरेको छ।

पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ का ५९ वर्षीय आईत बोहरा, ३१ वर्षका बलबहादुर बोहरा, २५ वर्षका मनिचन्द्र बोहरा, ४० वर्षका कबिन्द्र बोहरा, ३२ वर्षका दलबहादुर कामी, १९ वर्षका पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ वर्षका पृथ्वीबहादुर सिंह रहेका छन्।

ती ७ जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। उनीहरुबाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ। बलबहादुर बोहरा, दले कामी, कबिन्द्र बोहरा र मनिचन्द्र बोहरासँग अवैध भरुवा बन्दुक रहेको प्रहरीले बतएको छ। उनीहरुलाई पुस ९ गते राति पक्राउ गरेको हो।

प्रहरीले कबिन्द्र बोहराको घरबाट अवैधरुपमा वन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छालासमेत बरामदगरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

जंगली जनावर थारा, घोरल, रतुवाको छाला ५ थान फेला प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिकसमेत गरेको छ। सातै जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धी कसुर मुद्धा दर्तासमेत गरि प्रक्रिया अघि बढाईएको छ।

पक्राउ परेको सातै जना दोषी ठहरीए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। हिमाली भेगमा हिमपातसँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्