राष्ट्रिय सभाका सिट बाँडफाँटको अन्तिम कसरतमा एमाले र माओवादी केन्द्र

काठमाडौं । एमाले र माओवादी केन्द्रले माघ ३ गते सम्ममा राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउन अन्तिक कसरत गरिरहको छ । बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले बताए ।

राष्ट्रियसभा र प्रदेशका मुख्यमन्त्री तथा सभामुख लगायत पद बाँडफाँडका लागि ६ सदस्यीय कार्यदलले होमवर्क गरिरहको छ । माघ १० मा राष्ट्रियसभा सदस्य उम्मेवार मनोनयन गरिसक्नुपर्ने र त्यसअघि नै दलहरुले उम्मेदवार चयन गर्नुपर्ने भएकाले माघ ३ भित्र बाँडफाँड टुंगो लगाउन लागिएको हो ।

 

कार्यदलले प्रदेशतर्फ २ मुख्यमन्त्री र ४ सभामुख मागेको छ । बामपन्थी गठबन्धनको ७ मध्ये ६ प्रदेशमा बहुमत छ । तीमध्ये चार प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने निश्चित छ ।

एमालेले मुख्यमन्त्री पाएका प्रदेशमा माओवादीले सभामुख दाबी गरेको छ । तर, यसमा सहमति भइसकेको छैन । सबै पद ६०र४० कै अनुपातमा बाँडिने तर त्यसमा व्यक्तिको व्यवस्थापन तथा पार्टी एकताको भावना समेटिने नेताहरुले बताउँदै आएका छन् ।

राष्ट्रियसभाका ७ प्रदेशका ५६ उम्मेदवारमा भने सम्बन्धित पार्टीका मतदाता संख्याकै आधारमा बाँडफाँट हुने नेताहरुले बताएका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत छ । जित्ने सुनिश्चित भएका ४० सिटलाई बाँडफाँटको मुख्य आधार बनाइने स्रोतले जनाएको छ ।

४० मध्ये माओवादीले १५ दाबी गरेको छ । समग्र, उम्मेदवारीमा ३५ एमाले र १९ माओवादी उम्मेदवार बनाएर भागबण्डा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्