देशभर चिसो बढ्यो , काठमाडौँमा आज वर्षकै सबैभन्दा कम तापक्रम

काठमाडौं , पुस ९ । काठमाडौंमा आज सबै भन्दा बढि चिसो महसुश गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको हो । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

यसअघि मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलले तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ बताउँदै अबको केही दिन तापक्रम घटबढ भइरहने बताए ।

मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । उता पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यसैगरी दिपालय ४.७, दाङ ३.५, पोखरा ८.५, सिमरा ६.५, धनकुटा ६.५ र ओखलढुङ्गाको ४.० डिग्री सेल्सियस मापन गरिएको छ । चिसोले तराइको जनजिवन पनि प्रभावित भएको छ । विद्यालय पनि बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्