अब ट्राफिक नियम तोड्नेबित्तिकै ५ हजार जरिवाना
काठमाडौं, पुस ९ । अब ट्राफिक नियम तोड्नेबित्तिकै ५ हजार जरिवाना हुने भएको छ ।
यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेसँगै यस्तो नियम लागु भएको छ।
संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताएका छन् ।
‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले भने ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको छ। त्यसकारण जरिवाना बढाउन लागेका हौं।’
विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ।
‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउँछौं। मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिन्छ।
त्यसपछि मस्यौदा संसदमा जान्छ,’ हमालले भने। संसदले अनुमोदन गरेपछि ऐन लागू हुन्छ। अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ।















प्रतिक्रिया दिनुहोस्