अत्याधिक चिसो बढेपछि तीन स्थानीय तहको विद्यालय बन्द

काठमाडौं, पुस ६ । केहि दिनदेखि देशभर जाडो बढेको छ । काठमाडौं लगाएत देशका अधिकांशमा जाडोले जनजिवन प्रभावित भएको छ । सबै भनदा बढि प्रभावित त तराइका जिल्ला भएका छन् । यसैबीत शीतलहरका कारण अत्याधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्।

राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ। बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए।

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडाको अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन्।

दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्नँ जिल्लाका विभिन्न चोक र सार्वजनिक स्थलमा आगो बालिएको छ।

प्रतिक्रिया दिनुहोस्