निर्वाचन आयोग द्वारा पाँच दलीय बैठक आह्वान

काठमाण्डौं । राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ ।

प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न लागेको हो । आयोगले पर्सीसम्म प्रमुख नतोकिए राष्ट्रियसभा चुनावको कार्यतालिका प्रभावित हुने बताएको छ ।

काठमाडौंबाटै प्रमाणपत्र 
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकबाट निर्वाचित सदस्यहरुलाई काठमाडौंमा प्रमाणपत्र दिने भएको छ । मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षबाट निर्वाचित तीन सय ३० जना सांसदले गणना सकिए लगत्तै मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र पाए पनि समानुपातिक सांसदलाई भने काठमाडौंमै दिइने तयारी गरिएको हो ।

सातवटै प्रदेशमा गरी समानुपातिक सांसद दुई सय २० जना रहेका छन् । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार प्रदेशगत रुपमा आयोगको संरचना नभएको र अधिकांश सदस्यहरु काठमाडौंमै रहने भएकाले उनीहरुलाई प्रमाणपत्र केन्द्रीय कार्यालयबाटै दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्