भारतमा प्रदर्शन , तीन दिनमा गयो १४ जनाको ज्यान

काठमाडौं, पुस ५ । भारतको उत्तर प्रदेशमा नागरिकता कानुनविरूद्ध उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबारसम्म १४ जनाको मृत्यु भएको छ।

नागरिकता कानुन विरूद्ध भएको प्रदर्शनमा पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा मात्र १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ।

शुक्रबार हिंसात्मक कार्यमा संलग्न भएको भन्दै प्रहरीले १५ जनालाई दिल्लीस्थित दरियागञ्जबाट पक्राउ गरेको छ। दरियागञ्ज पुलिस स्टेसनअघि रहेको कार प्रदर्शनकारीले जलाएका थिए।

शुक्रबार राति ४० जना बढी प्रदर्शनकारीलाई दिल्ली गेटबाट पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रदर्शनमा संलग्न रहेको भन्दै प्रहरीले शनिबार बिहानै भीम आर्मीका प्रमुख चन्द्रशेखरलाई पनि हिरासतमा लिएको छ। उनी आफ्ना कार्यकर्ताका साथ जामा मस्जिद अगाडि प्रदर्शन गर्न पुगेका थिए।

भारतको दुवै सदनले ’मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि भारतमा मोदी सरकारविरूद्ध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्