सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

काठमाडौं, पुस ४ । सिन्धुपाल्चोक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको रेखदेखमा राखिएको छ ।

बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो । बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने डीएसपी काफ्लेले बताए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्