त्रिभुवन विमानस्थल अब २१ घण्टा सञ्चालनमा आउने

जागरण न्युज
काठमाडौं, ३० मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल सञ्चालन योग्य भएको छ । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने काम सकिएको छ ।
ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको कामसमेत सकिएको छ । निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ । यससँगै अब विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि योग्य भएको स्रोतले जानकारी दियो ।
सरकारले त्रिभुवन विमानस्थललाई २४सै घण्टा सञ्चालनको घोषणा गरेको छ । सकारको नीति तथा कार्यक्रम र बजेटमा समेत यो विषय उल्लेख थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकताका कार्यक्रममा पनि यसलाई समेटिएको छ । तर, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका उच्च अधिकारीहरु भने तत्काल २४ सै घण्टा सञ्चालन गर्न सम्भव नहुने बताउँदै आएका छन ।
विमानस्थल कार्यालयका अनुसार १ जनवरी २०२० बाट दैनिक २१ घण्टा चलाउने तयारी छ । १ जनवरीबाट भ्रमण वर्ष प्रारम्भ हुँदैछ ।
त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा थियो । गत चैतमा जिर्णोद्धारको पहिलो चरणको काम शुरु हुनुअघि रातको समय पर सारेर २१ घण्टा चलाउने गरिएको थियो । तर, अधिकांश वायुसेवालाई दिउँसोकै समयमा स्लट दिइएका कारण रातको समयमा थप वायुसेवा कम्पनीले उडान गर्न इच्छा देखाएनन् । यसले गर्दा दिउँसोको समयमा आकास र विमानस्थलमा ट्राफिक जाम हुने तर रातको समयमा सुनसान हुने अवस्था रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करीव ४० वर्ष पुरानो पीच उप्काएर धावनमार्ग तथा ट्याक्सी वे जिर्णोद्धारको काम सम्पन्न भएको हो । यसबाट विमानस्थलको धावनमार्गमा हुने भौतिक क्षतिबाट उत्पन्न हुने जोखिम टरेको छ भने विमानस्थलमा अवतरण हुने जहाजको क्षमता समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्