वरिष्ठ नेता नेपालले भने- उपनिर्वाचनको परिणाम निराशाजनक छैन

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टी्भित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्