देउवा – पौडेलबीच छलफल, के भयो कुराकानी ?

काठमाडौं, मंसिर २८ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आपसी सहमतिका लागि छलफल गरेका छन्। पौडेल निवास बोहराटारमा शनिबार दिउँसो उनीहरुले पार्टीका विवादित विषयमा छलफल गरेका हुन्।

पौडेलको सचिवालयका अनुसार बिहान साढे १० बजे भएको उक्त छलफलमा उपसभापति विमलेन्द्र निधिसमेत सहभागि थिए। सभापति देउवा र पौडेलबीच आगामी दिनमा सहमति र सहकार्यसहित पार्टीलाई अगाडि बढाउने सहमति भएको पौडेलका स्वकीय सचिव चिरञ्जिवि अधिकारीले बताएका छन् ।

ति अधिकारीले भने ’आपसी सहमतिका आधारमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र सहमतिकै आधारमा तल्लो तहका कार्यसमिति गठन गर्ने भन्ने विषयमा दुबै नेताहरुबीच छलफल भयो’,। बिहीबार बसेको केन्द्रीय समिति बैठक असन्तुष्ट पौडेल समूहको बहिस्कार गरेपछि पार्टी्भित्र विवाद झन चर्किएको थियो।

बहिष्कार भएपनि संस्थापन पक्षले बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवादले अर्कै रुप लिएको थियो। संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त भए।

पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा शुक्रबार दिउँसो उनीनिकट नेताको अनौपचारिक बैठक बसेको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साँझ बसेको थियो।

बिहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशको विषय प्रस्तावमा रुपमा पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको थियो। देउवा समूहले भने संघीयता अनुसार पार्टीको अन्तरिम संरचना निर्माण सम्पन्न भइनसकेकाले महाधिवेशनको मिति घोषणा सम्भव नभएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्