राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान
काठमाडौं, मंसिर २७ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो।
नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जनाकारी दिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन्।
राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने छ । यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन आग्रह गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पुराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ।
राष्ट्रियसभाको निर्वाचनका लागि कुनै दलले दल दर्ता गर्न नचाहेको खण्डमा दलको मान्यता र आधिकारिक रुपमा काम गर्ने कुरामा कुनै असर नपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा भाग नलिने दलहरुले पनि लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्ने उनले बताए।
कुनै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको खण्डमा सामान्य सोधपुछ बाहेक अरु कुनै कारवाही गर्ने अधिकार ऐनले आयोगलाई दिएको छैन्। राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ ।
एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ। पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस्