नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

काठमाडौं, मंसिर २७ । मुग्लिन सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । यस अवधिमा यो सडकमा गाडी चलाउन नपाइने भएको छ ।

सडकमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले आजदेखि दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक लगाइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

विश्व बैँकको १२ करोड रुपैयाँको लगानीमा यो सडक खण्डको गाईघाट, अठार किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चार किलो, टोपे खोला र काली खोलामा पहिरो रोकथामका लागि काम गरिने उनले बताए ।

कामको अवधिभर नारायणगढबाट मुग्लिनतर्फ छुटेका गाडी पन्ध्र किलो र दासढुङ्गा तथा नारायणगढतर्फ छुटेका गाडी मुग्लिनमा रोकिने खनालले जानकारी दिए ।

यो सडक खण्डमा यसअघि नै पहिरो रोकथामको काम गर्ने भनिए पनि भरतपुर विमानस्थल मर्मतको काम भइरहेकाले आजबाट मात्रै थाल्न लागिएको आयोजनाले जनाएको छ ।

यसरी दैनिक ४ घण्टा बन्द हुने भएपछि सवारी आवागमनमा भने केहि असहज हुने भएको छ । यात्रुहरु समयमा गन्तब्यमा पुग्न सक्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्