डोल्पामा भारी हिमपातः वार्षिक परीक्षा स्थगित

काठमाडौं, , मंसिर २७ । बिहानै देखि परेको हिमपातले हिमाली जिल्ला डोल्पाको जनजिवन प्रभावित भएको छ । हिमपातकै कारण वार्षिक परीक्षा पनि स्थगन भएको छ ।

यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो ।

बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुनसक्ने अवस्था नभएकाले शुक्रबार (आज) हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ ।


नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए ।

प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उहाँले जानकारी दिए ।

भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्