हुम्लामा भारी हिमपातः जनजीवन कष्टकर, हवाई उडान बन्द

काठमाडौं, मंसिर २६ । हुम्लामा हिमपात सुरु भएको छ । आज बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेतै देखिएका छन् ।

बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । आज दिनभरजसो नै हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । हिउँ परेसँगै चिसो बढेको छ ।

घरपालुवा पशु चराउन लैजान समस्या भएको छ । तर हिउँ परेसँगै बाली सप्रिने भन्दै किसानहरु भने खुशी देखिएका छन् ।

हिमपातका कारण हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ ।

हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । हुम्लामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो ।यसअघि मंसिर १२ गते पनि हिमपात भएको थियो ।

हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्