तातोपानीबाट प्याजको आयात ह्वात्त बढ्यो
काठमाडौं, मंसिर २५ । केहि समय अघि नेपालमा प्याजको मुल्य निकै महँगो थियो । भारतबाट आयात हुन छोडेपछि नेपालमा यसको मुल्य आकासिएको हो । तर पछिल्लो समय नेपाली बजारमा अभाव भएपछि चिनियाँ कृषिजन्य उत्पादन प्याजको आयात भने ह्वात्तै बढेको छ। उत्तरको मुख्य तातोपानी नाकाबाट तीन सातादेखि दैनिक कम्तिमा सय टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ ।
मंसिरको सुरुदेखि नै चिनियाँ प्याजको आयात ह्वात्तै बढेको तातोपानी सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। बिचौलियाका कारण छिमेकी भारतबाट हुने प्याजको आयात प्रभावित भएपछि नेपाली व्यापारीको आँखा चिनियाँ प्याजमा परेको हो। राजधानी काठमाडौंबाट तीन हजार पाँच सय किलोमिटर टाढा दुरीमा रहेका चीनका विभिन्न सहर पुगेर व्यापारीले प्याज आयात गरिरहेका छन्।
बन्दरगाह भन्सार अधिकृत केशवराज ओलीले नेपाली बजारमा अभाव देखिन थालेदेखि नै चिनियाँ प्याजको आयात बढेको बताए।
तीन साताबीचमा नाकाबाट एकै दिन दुई सय ५० टन (२५ कन्टेनर) सम्म चिनियाँ प्याज आयात भएको भन्सारको तथ्यांक छ। नाकाबाट दैनिक भित्रने सामग्रीको दुई तिहाइ हिस्सा चिनियाँ कृषिजन्य उत्पादनले ओगट्दा प्याजले एक तिहाइ स्थान लिइरहेको छ। नाकाबाट यतिबेला दैनिक ३५ कन्टेनरसम्म चिनियाँ सामग्री आयात भइरहेको तथ्यांक छ।
चिनियाँ प्याज नेपाली उपभोक्ता माझ प्रतिकेजी डेढ सय रुपैयाँसम्ममा किनबेच भइरहेको छ। साताअघि दुई सय ४० रुपैयाँ तिर्दा पनि बजारमा भारतीय प्याज पाउन मुश्किल थियो। अहिले चिनबाट प्याज आयात भएपछि भने बजारमा केहि किन्न सकिने सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्