कोहलपुरमा लगाएको निषेधाज्ञा हट्यो, डीएसपी पनि फेरिए
काठमाडौं, मंसिर २४ । केहिदिन देखि जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा आज हटेको छ ।
आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले निषेधाज्ञा लगाएको थियो । उक्त निषेधाज्ञा मंगलबार बाट पूर्ण रुपमा हटाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौँडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको थियो ।
यसैबीच, नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ ।
यसअघि तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा मुछिएका थिए ।
यता कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको ज्यादतीको विभिन्न विदार्थी संगठनले काठमाडौंमा प्रदर्शन समेत गरेका छन् । उनीहरुले प्रर्दशन गर्दै गृहमन्त्रीको राजीनमा माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्