अब छाउपडीमा जाने र पठाउने दुवैलाई कडा कारवाही हुन्छ : महान्यायाधिवक्ता

काठमाडौं, मंसिर २२ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानुनले दण्डनीय किटान गरिसकेको जनाउँदै छाउपडीमा जाने र पठाउने दुवैलाई कानुनबमोजिम कारवाही हुने बताएका छन् ।

अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरुले ज्यानसमेत गुमाउनु परेको दुःखद अवस्था विद्यमान भएको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने उले धारणा व्यक्त गरे । ठूलालाई पनि कानून लाग्ने बताएका छन् । ठुलालाई कानुन नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको उनले बताए ।

झापाको चन्द्रगढीमा उनले कानुनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको उल्लेख गरे ।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानुनी कार्वाहीको दायरमा आइरहेको उल्लखे गर्दै उनले भने, ’हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं।’

उनले समाजमा अपराध नियन्त्रण र कानुनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए।

’मान्छे पक्राउ पर्नासाथ छाडिदिनुर्पयो भनेर जनप्रतिनिधिहरु ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्