गृहमन्त्री थापासंग नेपालका लागि इराकका राजदूतको भेट
काठमाडौं , मंसिर १९ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल(इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।भेटमा गृहमन्त्री थापाले राजदूत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले इराकमा ठूलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदूत डा. अब्दुलसदासँग आग्रह गरे ।
नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाइदिन राजदूतसँग गृहमन्त्री थापाले आग्रह गरे ।
राजदूत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भीर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवादविरुद्ध आफूहरुको लडाइमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे ।
उनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताए ।
जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफूले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्