पोखरामा बम विस्फोटः आरोपमा एकजना पक्राउ

काठमाडौं, मंसिर ११ । सत्तारुढ दल नेकपाको चुनावी सभा चलिरहेको स्थान नयाँबजार प्रदर्शनी केन्द्र नजिकै विस्फोट गराएको आरोपमा एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

घटना लगत्तै सर्तकता बढाएको प्रहरीले सोही स्थानबाट एक जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । पक्राउ परेका व्यक्तिको प्रहरीले नाम खुलाएको छैन । तर निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहले सुनियोजित रुपमा घटना घटाएको आंशका छ ।

सभामा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहँदा विस्फोट भएको थियो । नेम्वाङको सम्बोधन सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

प्रदर्शनी केन्द्रको डोम नजिकै फोहोरको थुप्रोमा विस्फोटक पदार्थ ठूलो आवाजमा पड्किदा छेउमा पार्क गरी राखेको ग १ ख ६७९४ नम्बरको सार्वजनिक बसको सिसामा क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्