ट्राफिक प्रहरीले कारबाही गर्न थाल्यो टुटल र पठाओका चालकलाई

काठमाडौं, मंसिर ८ । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।प्रयोजनदेखि बाहिर गएर सवारी साधान चलाए जोसुकैलाई कारबाही हुने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाले बताए ।

उनले भने, ‘नियममै उल्लेख भएको कुरा हो । ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं ।’

यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्