अब भोक मेट्नकै लागि काठमाडौँका सडकमा बस्नु नपर्ने
काठमाडौं , मंसिर ५ । अब भोक मेट्नकै लागि काठमाडौँका सडकमा बस्नु नपर्ने भएको छ । यसरी सडकमा बसिरहेकाहरुको लागि भने यो खुशीको कुरा हो । यसरी भोक मेट्नैकै लागि भनेर काठमाडौंका सडकहरुमा थुर्पै मगन्तेहरु छन् ।
तिनिहरुले आफ्नो जिविका चलाउन भएपनि सडकमै आउनु पर्ने बाध्यता छ । तर यसमा बेला बखत सरकारले केहि आश्वासन त दिन्छ तर पुरा भने गर्न सक्दैन् । तर अब काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५ औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन लागेको छ ।
यही मङ्सिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । घोषणापछि काठमाडौँ दोस्रो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ बन्नेछ । यसअघि कात्तिक ९ गते भरतपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण भइसकेको छ ।
शाक्यका अनुसार यसको नेतृत्व काठमाडौँ महानगरले गर्ने र व्यवस्थापन मानव सेवा आश्रमले गर्नेछ । आश्रम विसं २०६९ देखि सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचारपश्चात् घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने कार्यमा जुटिरहेको सामाजिक संस्था हो ।
महानगरले विगत दुई वर्षदेखि आश्रमसँग सहकार्य गर्दै आएको छ । सडकलाई व्यवस्थित गर्न स्थानीय सरकारको सबैभन्दा बढी जिम्मेवारी रहेकाले आधिकारिक घोषणा गरेरै असहायको संरक्षण गरी माग्ने पेशा अपनाएकाहरुको उचित व्यवस्थापन गर्न लागिएको उनले बताए ।
व्यवस्थापनमा केही समस्या आए समिति बनाएर उचित निर्णय गरिने महानगरको योजना छ । वास्तविक सहयोगापेक्षी न्यून रहेपनि मुलुकको राजधानी काठमाडौँमा पेशेबर मगन्ते धेरै रहेकाले उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन वर्तौलाले बताए ।
भिक्षा माग्नेलाई अधिकतम दुई महीना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । व्यवहारमा भने कार्यान्वयन हुन सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस्