चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चार जनाको नाम सिफारिस, को- को परे ?

काठमाडौं, मंसिर ४ । चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशक पदमा चार जना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ।

सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा दिलीप शर्मा र प्रा डा आरती साह छन्।

ती चार निर्देशनालयमा मापदण्ड तथा प्रत्ययन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन्।

आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो।

ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ। तीमध्येबाट चार जनाको सिफारिस भएको बताइएको छ तर यसबारे आयोगले केही सार्वजनिक गरेको छैन।

राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ।

आयोगको सूचनामा निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनेको थियो।ती पदका समयावधि चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ।

ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ।

साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्षसमक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’ भन्ने ऐनको प्रावधान रहेको छ।

प्रावधानअनुसार आयोगका सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो।

निर्देशक पदको नियुक्ति प्रक्रिया सुरू गरिएको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्षसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ। आयोगले कात्तिक १८ गते पूर्णता पाएको थियो।

सरकारले आयोगका सदस्य मनोनयन गरेकामा उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्