वन्यजन्तु सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान

काठमाडौं, मंसिर ३ । भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ ।

जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो ।


हिम चितुवाको बासस्थान भएका ठाउँमा सिसीटिभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा कागमारा, टाङटुगे, बाहिर पुदुवभित्र पुदुव, अन्तर पुदुव ठूली पाल्ती र जगुदुल्ला गाउँपालिकाका पाटनमा सिसीटिभी जडान गरिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सिसिटिभी क्यामराका सहायताले निकुञ्जभित्रका तीन हजार नावरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामरा जडान मुख्य काम भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी अनि चोरी निकासी रोक्नका लागि क्यामरा जडान गरिएको हो ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भूधरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मुनाल, चिललगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएका छन् ।

यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्