भारतको एक बेश्यालयबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

काठमाडौं, मंसिर ३ । भारतको एक बेश्यालयबाट ४ बालिकासहित सात नेपाली महिलाको उद्धार गरिएको छ । भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएकोमा चार जना बालिकासमेत रहेका छन् ।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ । कानुनी सल्लाहकार कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन् ।

सिल्चारको सो बेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो ।

दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो । उद्दार गरिएकामध्ये तीन जना २० वर्ष मुनिका रहेको र चार जना बालिकाहरु रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्