अझै बुझाएनन् बाँके र बर्दियाका उम्मेदवारले निर्वाचन खर्च विवरण

काठमाडौं , कात्तिक ३० । बाँके र बर्दियाका उम्मेदवारले अझै पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।


संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक संघीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।


बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचनलक्षित गतिविधिसँगै दलहरुले विभिन्न तयारी गरिरहेका छन् ।

०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारूको निधनपछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन हुनेछ । उपनिर्वाचनको माहोल तीव्र रुपमा चलिरहँदा गत निर्वाचनमा भाग लिएका बाँके र बर्दियाका उम्मेदवारहरुले भने अझैसम्म निर्वाचनको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छैनन् ।

निर्वाचनमा उम्मेदवार बनेका बाँकेका १६६ र बर्दियाका ५६३ गरी ७२९ जनाले अहिलेसम्म निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जसमा सबैभन्दा धेरै स्थानीय तहमा छन् । बाँकेमा १५५ र बर्दियामा ५४३ गरी ६९८ जनाले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले बताएका छन् ।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचनमा बाँकेका चार र बर्दियाका आठ गरी १२ उम्मेदवारले हालसम्म निर्वाचन खर्च बुझाएका छैनन् ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाको निर्वाचनमा पनि बाँकेका सात र बर्दियाका १२ गरी १९ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा बाँकेबाट ३५ उम्मेदवारले निर्वाचन लडेका थिए । जसमध्ये चार उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् ।


प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका ६८ मध्ये सातले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । स्थानीय तहको निर्वाचनमा बाँकेमा दुई हजार ३५० उम्मेदवार थिए ।

बर्दियामा एक हजार ९४१ उम्मेदवार थिए । निर्वाचनमा उम्मेदवारी दिएकाले हालसम्म निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्