सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, एकै वडाका आठ घाइते

काठमाडौं, कात्तिक २८ । सल्यानमा जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुने सबै एउटै वडाका रहेका छन्। घाइतेको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइरहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्