अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं , कात्तिक २८ । निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो ।
तर यो हरेक वर्ष ६र६ महिना थपिनेछ र २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने समितिको निर्णय छ ।

निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद ५८ वर्ष थियो । एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक(फरक भएको भन्दै एउटै बनाउने पहल हुँदै आएको थियो ।

यद्यपि साविकको जस्तै संघीय निजामती सेवा विधेयकमा निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको थियो । तर, त्यसलाई राज्य व्यवस्था समितिको बैठक सच्याउँदै ६० वर्ष राख्ने निर्णय गरेको छ । अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ ।

निजामती सेवामा करिब ९० हजार कर्मचारी छन् ।

सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेरहद साठी रहेकोले एकरुपता ल्याउन साठी र्पुयाइएको हो।

स्वास्थ्य सेवा तथा संसद सेवामा पनि अवकाशको उमेरहद पनि ६० वर्ष छ । लोक सेवा आयोगले पनि कर्मचारीको अवकाश उमेरहद ६० वर्ष कायम गर्न पहिले नै सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्