‘साझा धारणा बनाउन संयुक्त कार्यदलको बैठक’

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज आज बस्दैछ । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा सहमतिको साझा धारणा बनाउन संयुक्त कार्यदलको बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । नेम्वाङका अनुसार कार्यदलले प्रदेशसभा र स्थानीय तहमा प्राप्त गरेको सिट संख्या, पार्टी एकताको स्पिरिट, उम्मेदवारको क्षमता लगायतलाई आधार मानेर समान धारणा तय गर्नेछ ।

कार्यदलले साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने जिम्मेबारी पाएको छ । पार्टी एकता भइनसकेकाले राष्ट्रिय सभा र प्रदेश सरकार गठन हुँदा कसरी सिट भागवण्डा गर्ने भन्नका लागि कार्यदल छलफलमा जुट्न लागेका हुन् ।

कार्यदलमा एमालेका तर्फबाट नेता नेम्वाङसहित शंकर पोख्रेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्