इन्सेकको अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ , अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता

काठमाडौं , कात्तिक २३ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३ औं साधारणसभाले डा. इन्दिरा श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

कार्यसमितिको सदस्यमा दीपकराज काफ्ले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चयन भएका छन् ।

अध्यक्ष श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायका विषयमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताए ।

शुक्रवार भएको सभाले ९ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेपालको संविधान लागू भएसँगै मुलुकमा स्थापित संघीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने नागरिक तथा राजनीतिक अधिकारका सन्दर्भमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीनै तहका सरकारसँगको सहकार्य मजबुत बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विधिको शासन र मानवअधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायसँग सहकार्य गर्ने, संक्रमणकालीन न्यायको प्रक्रियालाई यथाशक्य छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा र्पुयाउन जोडदार माग गर्ने इन्सेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्