‘कालापानीबाट भारतीय सेना हटाउ’: सुगौली सन्धिमा के छ ?

काठमाडौं , कात्तिक २२ । नेपालको अन्तर्रा्ष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन् । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ ।

भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ ।

कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ ।

काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो। सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ । सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो ।

जुन नदीको वास्तविक उद्गम दार्चुलाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो । सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ ।

सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो। कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो ।

सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने बताएका छन्

नदीविद् जगतप्रसाद भुसालले कुनै बेला एक व्यक्ति वा समूहको मानवीय गल्तीले गुमेको हुन सक्ने भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको बताए । ‘यी ठाउँबाट भारतीय सेना हटाउनुपर्छ,’ उनले भने । (अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्