अर्घाखाँचीमा कार दुर्घटनाः एकै परिवारका तीनको मृत्यु, दुई घाइते

काठमाडौं, कात्तिक २० । अर्घाखाँचीमा कार दुर्घटनामा परी एकै परिवारका तीनको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।


गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् ।


घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । कार सडकबाट करीब १५० मिटर तल खसेको छ ।

ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्