पृथ्वीनारायण शाहको दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक : प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय विदा सहित विभिन्न कार्यक्रम गरी मनाएकोमा  स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले स्वागत गरेको छ ।
पार्टी तथा अन्य संघ संस्थाहरुले पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती मनाइरहँदा नेपाल सरकारले आधिकारिक रुपमा नमनाएकोमा दुःख व्यक्त समेत गरेको छ । प्राप्त लोकतन्त्रलाई संस्थागत गर्दै जानको लागि पनि प्रतिष्ठानले आह्वान गरेको छ । १२ वर्ष पछि राष्ट्रिय एकता दिवस मनाइएकोमा यस प्रतिष्ठानले स्वागत गरेको छ ।
पूर्व टिस्टादेखि बाइसे चौबिसे राज्यलाई एकीकृत गरी राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह प्रति सबैको सद्भाव भएको प्रतिष्ठानको बुझाई छ । आम नागरिकले आजको सन्दर्भमा उहाँका महावाणीहरुको कार्यान्वयन र अनुसरण गरे मात्र पनि उनको सम्मान हुने प्रतिष्ठानको बुझाई छ ।
सबै राजनीतिक दल तथा नेताहरुलाई समयसापेक्ष रुपमा चल्न र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशहरुलाई अवलम्बन गरी आम नागरिकको हितमा काम गर्न पनि आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालद्वारा बिहिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ “पृथ्वीनारायण शाह सबै नेपालीका एकताका प्रतीक भएको र उहाँले अवलम्बन गरेका र व्यक्त गरेका दिव्य उपदेश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएको” बताए ।

प्रतिक्रिया दिनुहोस्