कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित, अब अर्को बैठक कहिले ?

काठमाडौँ , कात्तिक १९ । संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।
कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित हुन पुगेको हो ।

बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु मात्रै सहभागी रहेका थिए ।

बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कात्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।

कात्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्