कोशी पहाडको जनजीवन कष्टकर
काठमाडौं । प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ ।
धनकुटा बजारमा प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको छ ।
धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द हुनाका साथै यातायात सेवासमेत ठप्प छ । पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ ।
बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेका बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ । गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो ।
प्रदेशको राजधानीको माग राख्दै धनकुटावासी विगत २६ दिनदेखि आन्दोलित छन् । पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साबिकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाको सदरमुकामसमेत रहेको धनकुटालाई १४ जिल्लाको केन्द्रका रुपमा अस्थायी राजधानी बनाउनुपर्ने धनकुटावासीको माग छ ।
प्रतिक्रिया दिनुहोस्