पक्राउ परेका २५ जुवाडेको सम्पत्तिमाथि छानविन हुने

काठमाडौं ,कात्तिक १७ । जुवाखालबाट समातिएका २५ जुवाडेको सम्पत्ति छानिव हुने भएको छ । १० कात्तिकमा पक्राउ गरेका २५ जना जुवाडेको सम्पत्तिमाथि छानविन हुने महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाँ दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।

काठमाडौं–३, पिपलमार्ग्स्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जनामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो ।

थुनामा रहेका बलेसहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीक्ररण विभागलाई पत्र काटेको स्रोतले बताएको छ । पत्रअनुसार विभागले छानविन थाल्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्