पायक पर्ने ठाउँमा छैनन् खाद्य डिपो, चामल पाउन कठिनाई

काठमाडौं, कात्तिक १६ । पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियतको चामल पाउन कठिनाई भएको छ ।

सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री हुन नसकेको हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो डोल्पामा पायक पर्ने ठाउँमा खाद्यान्न डिपो नहुँदा चामल बिक्रीमा कमी भएको खाद्य संस्थानले जनाएको छ ।

नेपाल खाद्य संस्थान डोल्पाका प्रमुख कमलराज पाण्डेका अनुसार तल्लो डोल्पामा चार वटा खाद्यान्न डिपो छन् । जिल्ला सदरमुकाम ठूलीभेरी नगरपालिकाको दुनै, जुफाल, मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुला गाउँपालिकाको काइगाउँमा खाद्य संस्थानका डिपो छन् ।

तल्लो डोल्पाको लिकु, उपल्लो डोल्पाको सहरतारा, तेन्जेमा बिक्री केन्द्र छ । स्थानीय तहको मागअनुसार उपल्लो डोल्पाको छार्का, रिर्मीमा नयाँ बिक्री केन्द्रका लागि केन्द्रमा माग गरेर पठाइएको छ । केन्द्रमा पठाए पनि स्वीकृति भएर आइनसकेको प्रमुख पाण्डेले बताए ।

बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य संस्थानमा पाइने चामलको मूल्य कम भए पनि टाढाबाट ढुवानी गर्दा धेरै रुपैयाँ पर्ने भएको भन्दै स्थानीयवासी बजारको चामलमा निर्भर भएका हुन् । संस्थानको जिरा चामल प्रतिकेजी ६३ रुपैयाँ ५० पैसा पर्दछ भने बजारमा रु ८४ केजी पाइने गरेको प्रमुख पाण्डेले बताए ।

खाद्य डिपो आउँन र जान मात्र एक दिन लाग्ने भएकाले बोकेर टाढा लान समस्या हुने गरेको मुड्केचुला गाउँपालिका–३ काशिलका रामबहादुर रोकायले बताए । अहिले दुनैमा दुई हजार ८०० क्विन्टल, जुफालमा एक हजार ८०० क्विन्टल, काइगाउँ डिपोमा एक हजार ५०० क्विन्टल चामल मौज्दात छ ।

उपल्लो डोल्पामा चिसो बढिसकेकाले त्यहाँ बस्ने स्थानीयवासी खाद्यान्नको जोहो गर्न दुनै झरेका छन् । उपल्लो डोल्पामा चामल लानका लागि चाइनाको बाटो प्रयोग गर्नुपर्ने भएकाले ढुवानी प्रक्रिया झन्झटिलो भएको हो ।

खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले उपल्लो डोल्पामा चामल ढुवानी गर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने संस्थानले जनाएको छ ।

 





 
 
प्रतिक्रिया दिनुहोस्