महराको काठमाडौं जिल्ला अदालतमा बयान सुरु, आजै थुनछेक बहस हुने

काठमाडौं, कात्तिक १५ । निवर्तमान सभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबर्जस्ती करणी उद्योगअन्तर्गत् मुद्दा दर्ता गरेपछि शुक्रबार अदालतमा बयान सुरु भएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा उनको बयान जारी रहेको छ । इजलासमा बयान सकिएपछि शुक्रबार नै थुनछेक बहस सुरु हुनेछ ।

सरकारवादी मुद्दा भएकाले सरकारी वकिलहरुले बहस गर्नेछन् । त्यसपछि महराका वकिलहरुको बहस गर्ने पालो आउने जिल्ला अदालतले जनाएको छ ।

थुनछेक बहसपछि अदालतले महरालाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

महरालाई मुलुकी अपराध संहितअन्तर्गत् जबर्जस्ती करणी उद्योग र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नै सहकर्मी कर्मचारीमाथि बलात्कार प्रयास गरेकाले थप गरी साढे सात वर्षसम्म जेल सजायको माग गरिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा महरा गएको असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्