धरानको मेयरका लागि नेकपाबाट ३ जनाको नाम सिफारिस

काठमाडौं, कात्तिक १५ । धरान उपमहानगरपालिका प्रमुखका लागि नेकपाबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।


उपनिर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट ३ जनाको नाम सिफारिस गरिएको हो । सत्तारुढ दलको उपमहानगर कमिटीले शुक्रबार नाम सिफारिस गरेको हो।

उपमहानगर कमिटीको बैठकले जिल्ला सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा वेणु काफ्लेको नाम सिफारिस गरेको छ ।

असोज २९ मा बसेको नेकपा सचिवालय बैठकले कात्तिक १० भित्र सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको थियो।

उपमहानगर कमिटीले सिफारिस गरेका नाममा जिल्ला, प्रदेश हुँदै पार्टी केन्द्रले टुंगो लगाउनेछ। उपमहानगरले सिफारिस गरेको नाममाथि छलफलका लागि सुनसरी जिल्ला कमिटीको बैठक शुक्रबार दिउँसो बोलाइएको छ ।

आगामी मंसिर १४ मा हुने मुलुकभरका ५२ ठाउँमा उपनिर्वाचन हुँदैछ। जसअन्तर्गत, सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि पनि निर्वाचन हुँदैछ।

तत्कालीन मेयर तारा सुब्बाको उपचारका क्रममा गत वर्षको साउन १ मा निधन भएपछि यो पद रिक्त छ।

उपनिर्वाचनमा कांग्रेसले यसअघि नै पराजित राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। त्यस्तै, समाजवादी पार्टीले गजेन्द्र इस्वोलाई उम्मेदवार बनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्