पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै, आज सार्वजनिक बिदा

काठमाडौं ।पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बिहीबार मनाईंदैछ । पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यसपटक भने सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्