मगर संघको माघे संक्रान्तिमा आन्दोलन किन ?

काठमाडौं । नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराकासाथ माघे संक्रान्ति मनाउने जानकारी दिएको हो ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको जिकिर गरेका छन् ।

उनले भने,‘माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैर–समुदायको पनि चाड हो, अर्थात राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस संक्रान्तिलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ, यहाँभन्दा पहिलेको र अहिलेको माघे संक्रान्तिमा धेरै फरक छ।’

 

उनले अघि थपे,‘परापूर्वकालदेखि नै चलिआएको चाडलाई हामीले विगतका वर्षहरुमा साँस्कृतिक, समाजिक र भावानात्मक तरिकाले मनाउदै आएका थियांै, आजको दिनमा हाम्रा तमाम अधिकारहरु प्राप्त गर्न बाँकी छन्, यस्ता अधिकारहरु सम्बोधन र सुनिश्चित गर्नको लागि हामीले यस पालिको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने निर्णय गरेका छाँै।’

वर्तमान स्थितिमा नेपाली कला, संस्कृति सक्तासँग जोडिएको बताउँदै अध्यक्ष मगरले यस माघे संक्रान्तिसँग आन्दोलनजस्तो शब्द प्रयोग गर्न बाध्य भएको स्पष्ट पारे ।

उनले भने,‘राज्यले हामीलाई उपेक्षा गरेको छ, हाम्रो संस्कृतिको सम्मान स्वरुपमा एकदिन बिदाबाहेक अरु सम्मान दिएको छैन, अन्य चाडपर्वहरुमा नेपाली सेनाले तोप सलामी दिन्छ, खै त हाम्रो माघिमा तोप पड्काएको ? यो त एक उदाहरण मात्रै हो ।’

आउदो माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने माघे सकरातिमा लोपउन्मुख जिवन्त सन्देश प्रदानगर्ने मगर समुदायले गीत संगीत र साँस्कृतिक प्रस्तुतिहरु समेत दिने आयोजकले जानकारी दिएको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तीको पूर्णपाठः

माघे सकराती राष्ट्रिय चाड २०७४

पत्रकार सम्मेलन
पत्रकार मित्रहरु

जेधो, झोर्ले, सिमिङेपाउ साथै मगरात अभिवादन ।

मानव समुदायको आफ्नो ईतिहासमा हासिल गरेको सबै भन्दा महत्वपूर्ण उपलब्धी भनेको भाषा र संस्कृतिको विकास नै हो । संस्कृतिक विकासले स्थापित गरेको विन्दु नै चाड वा पर्व हो । चाड र पर्वको जगबाट विभिन्न संस्कार तथा सामाजिक मुल्य मान्यताको अभ्यासले जन्माएको सार्थक परिणाम नै सामाजिक सभ्यता र मानव समाजको अस्त्त्वि हो ।

नेपाली समाजमा व्यापक रुपमा थुप्रै चाड पर्वहरु मध्ये मगर समुदायको आफ्नो उदय र सामाजिक अभ्याससँगै तमाम मौलिक चाड पर्वहरु मध्ये पृथक र मौलिकपन भएको महत्वपूर्ण चाड हो माघे सकराती राष्ट्रिय चाड हो । माघे सकराती राष्ट्रिय चाडलाई सबै नेपाली समुदायले बरोवार मनाउने चलन छ । तर मगर समुदायले निकै विशिष्ट मौलिक विधिद्धारा मनाउने चलन भएकोले नेपाल सरकारले समेत मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड माघे सकराती नै भनि २०६५ सालमा तत्कालिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्धारा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको हो ।

मानव समुदायले प्राचिनकालदेखि सिकारी र घुमन्ते युग जति वेला अन्न उत्पादन गर्ने अभ्यास नहुदै कन्दमुल, गिठा, भ्याकुर र सिकार गरी जिउने चलन देखि नै मगरहरुको प्राचिन पुर्खाहरुले नै सुरुवात गरेको यस चाड अगाडि नेपालमा कुनै पनि धार्मिक चाडको विकास नै भएको थिएन । दाजुभाई वा माइतीले चेली वेटीलाई पूजा गरि दिक्षणा दिएर अपसी भावनात्मक सम्बन्ध बढाउँदै साझा सामाजिक सभ्यताको विकास गराउने नै यस चाडको मुख्य ध्येय हो साथै यस चाडमा लडाकु कला र कौशल सिकाउन तथा छनौट गर्न युवाहरुलाई धनुषवाण वा भरुवा बन्दुक द्धारा तारो थापी बाजी लगाएर निसाना हान्न लगाउने र अभ्यास गराउने चलन छ ।

यस्तै खालको अभ्यासले पनि मगरहरु लडाकु कला क्षेत्रमा निपूर्ण (पोख्त) हुने गर्दछन् । पश्चिम दाङ जिल्लाको भारकुने दहमा हो भने ऐतिहासिक मगरात भुमि गुल्मीको रीडी खोला (रिडी गण्डकी)मा नेपाल भरिका मगर लगाएत अन्य समुदायका मानिसहरु गएर माघ १ गतेका दिन माघे सकराती चाड माउने चलन छ । जुन क्षेत्रलाई हिन्दुकरण गनै रीडीको सट्टामा रुरु क्षेत्र लगायतको क्षेत्रहरुमा पहिचान नै नामेत हुने गरि फरक नाम दिएर भ्रम फैलाउने काम भईरहेको छ । मगर समुदायको सांस्कृतिक ईतिहासको पहिचान मेटाउने जस्ता कामप्रति हाम्रो घोर आपत्ति छ ।

यस चाडलाई रितु परिवर्तन सँगै आर्थिक वर्षको थालनी रुपमा समेत लिने गरिन्छ । राज्यले कुनै पनि चाड पर्वलार्इं काखा पाखा हैन समान रुपले व्यवहार नगर्दा सम्म साझा सामाजिक सभ्यताको विकास हुदैन र समाजले नयाँ गति लिन सक्दैन त्यसैले दशैमा मात्र नभएर माघे सकराती राष्ट्रिय चाड लगायतका सबै चाड पर्वहरुलाई राज्यको तर्फबाट टोप बधाई दिनुपर्दछ । अन्यथा राज्य सबैको साझा बन्न सक्दैन वा देश र राज्य सबैको नभएर कसैको लागि मात्रै हुने निश्चित छ । जुन प्रकृयाले मुखमा भन्नलाई जे भने पनि वास्तिविक साझा नयाँ नेपाल कहिल्यै बन्न सक्दैन यो अवश्य पनि नेपाल र नेपाली जनताको लागि दुर्भाग्य नै हो ।

मानव समुदायको लामो सामाजिक अभ्यासले जाति समुदायको भाषा, संस्कृति, ईतिहास र सामाजिक मुल्य मान्यताको समुच्च रुप पहिचानलाई राज्य तथा राजनैतिक दलहरुले अपमान होइन बरु सम्बोधन गरि पहिचान र अधिकार सहितको पूर्ण संविधान निर्माण गर्नु पर्दछ । जसले सुन्दर समाज र समुद्ध नेपालको चित्र दिनेछ । यस माघे सकराती राष्ट्रिय चाडलाई भावनात्मक तथा सामाजिक एकता र समुधर सम्बन्ध विकास गर्ने रुपमा पनि घर–घरमा मनाईन्छ ।

अन्तमा, संसारभरिका नेपाल मगर संघ÷संस्थाहरुलाई २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिवासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा भव्य ढङ्गले मनाउन जानकारी गराउँदै स्वदेश तथा विदेशमा रहेका सम्र्पूण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा माघे सकराती राष्ट्रिय चाड २०७४ को उपलक्ष्यमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै माघ १ गतेका दिन काठमाडौ भृकुटी मण्डपमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगर (पासाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने माघे सकराती चाड कार्यक्रम सफल पार्न सबैमा हार्दिक आमन्त्रण सहित सम्र्पूण पत्रकार मित्रहरुलाई आ–आफ्नो मिडियामा यस कार्यक्रमबारे समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछौ । धन्यवाद,

जय नेपाल मगर संघ । जय मगरात गणतन्त्र नेपाल ।
मिति २०७४ पौष २६ गते, काठमाडौं ।
नवीन रोका मगर
(अध्यक्ष)

प्रतिक्रिया दिनुहोस्