आलमको समर्थनमा काँग्रेसद्वारा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन
काठमाडौं, कात्तिक ८ । निलम्बित सांसद मोहम्मद अफ्ताव आलमको समर्थनमा कालोपट्टी बाँधेर काँग्रेस सडकमा उत्रिएको छ ।
पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धा्रित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।
गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार हुने प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा हुने भएको बताइएको छ । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए । उनले आफु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए ।
आलम पक्राउ परेलगत्तै काँग्रेसका नेता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् ।
सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार मात्र अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्