बंगलादेशमा दियो छात्रा यौन दुर्व्यवहार र हत्या प्रकरणमा १६ जनालाई मृत्युदण्ड

काठमाडौं, कात्तिक ७ । बंगलादेशमा छात्रा यौन दुर्व्यवहार र हत्या प्रकरणमा १६ जनालाई मृत्युदण्ड दिएको छ ।


यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै आगो लगाएर हत्या गरिएकी बंगलादेशकी एक छात्राको हत्यामा संलग्न १६ जना व्यक्तिलाई दक्षिणी बंगलादेशको एक अदालतले बिहीबार मृत्युदण्डको सजाय सुनाएको हो । नुसरत जहान रफी नामकी ती १९ वर्षिया छात्राको गएको अप्रिल महिनामा हत्या भएको थियो ।

ती छात्रा स्थानीय सोनागाजी इश्लामिया सिनियर फजिल मदर्सामा अध्ययन गर्थिन् । उनले आफ्ना शिक्षकका विरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएकोमा केही दिनमा उनलाई आगो लगाएर हत्या गरिएको थियो । आगो लागेर ८० प्रतिशत शरीरको भाग जलेर पनि उनले आफ्ना दाइलाई बयान दिएकी थिइन् । दाइले मोबाइलमा उनको बयान रेकर्ड गरेका थिए । उनले बयानमा भनेकी थिइन्, ‘‘शिक्षकले मलाई छोयो, म अन्तिम सास फेरुन्जेल लड्छु ।’’ बयानका क्रममा उनले केही व्यक्तिको नाम पनि लिएकी थिइन् ।


त्यसको केही दिनमा उनको मृत्यु भएको थियो । उनको घर राजधानी ढाकाबाट करिब १६० किमीको दूरी फेनीमा छ । सो मदर्साका हेडमास्टरलाई सो प्रकरणमा आरोप लगाइएकोमा अहिले अदालतले पनि दोषी ठहर गरेको छ । सो हत्याकाण्डले बंगलादेशमा ठूलो हल्लीखल्ली मच्चिएको थियो । चर्को विरोध भएपछि उनको मुद्दाको सुनुवाई फास्ट ट्रयाकबाट गरिएको हो ।

उनलाई मौन गराउनका लागि उनका साथी र अन्य समुदायका मानिस पनि लागेको बताइएको छ । हेडमास्टर सहितका तीन शिक्षक, अवामी लिगका स्थानीय नेता समेत सो प्रकरणमा दोषी देखिएका छन् । स्थानीय प्रहरी अधिकारी पनि उनले आत्महत्या गरेको भन्ने गलत प्रचारमा लागेका थिए । १२ जनाले सो प्रकरणमा आफू सहभागी भएको स्वीकार गरेको जनाइएको छ ।

उनले हेडमास्टरलाई यौन दुर्व्यवहारको आरोप लगाएको ११ औं दिनमा उनीमाथि आक्रमण भएको हो । आरोप लगाएपछि उनलाई केही मानिसले बुर्का लगाएर उजुरी फिर्ता लिन दबाब दिँदै धम्क्याउने गरेका थिए । उनले सो दबाब अस्वीकार गरेपछि मट्टितेल खन्याएर जिउँदै आगो लगाएर मार्न खोजिएको थियो । उनको १० अप्रिलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्