महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो, बयान लिने तयारी

काठमाडौं , कात्तिक ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

उनलाई आइतबार मध्याह्न प्रहरीको भ्यानमा राखेर जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप्ने तयारी गरेको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।


म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा र्पुयाउने प्रहरी अधिकारीहरुले बताएका छन् ।


पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य ठीक नभएको भन्दै उनले बयान दिन मानेका छैनन् ।


संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।


महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्