अब सवारी चालक कामका लागि विदेश जान लाइसेन्स अनिवार्य
काठमाडौं, कात्तिक २ । अब सवारी चालक कामका लागि विदेश जान लाइसेन्स अनिवार्य गरिएको छ ।
वैदेशिक रोजगारीमा जाँदा सवारी चालक कामका लागि जाने श्रमिकहरुले अनिवार्य रुपमा नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेको हुनुपर्ने व्यवस्था कार्यान्वयन ल्याइने भएको हो ।
योसँगै अब सवारी चालक कामका लागि विदेश जान नेपाली लाइसेन्स प्रमाणपत्र पनि अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ ।
यसअघि सवारी चालकका रुपमा श्रम स्वीकृति लिएर जाने श्रमीकहरुदे लाइसेन्स पेस पर्ने पर्ने व्यवस्था थिएन ।
जसले गर्दा सवारी चालकको नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु गन्तव्य मुलुकमा पुगेर अन्य काममा संलग्न हुने गरेका थिए।
सवारी चालकका रुपमा जाने श्रमिकहरुले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानिकीकरण गर्दा अनिवार्य रुपमा लाइसेन्स देखाउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको श्रम कार्यालय ताहाचलले जानकारी दिएको छ।
श्रम कार्यालय ताहाचलका कार्यालय प्रमुुख देवेन्द्र कार्कीले भने, ‘ड्राइभिङका लागि जाने श्रमिकले श्रम स्वीकृति लिन लाइसेन्स अनिवार्य पेश गर्नुपर्दछ। नेपालमा लिएको वा विदेशमा लिएको जुन लाइसेन्स भएपनि अनिवार्य पेश गर्नुपर्दछ । होइन भने सवारी चालक कामका लागि कार्यालयले श्रम स्वकृति दिन मिल्दैन।’
सवारी चालक कामको लागि जान लागेका तर सवारी चालक अनुमति पत्र नभएका २ सयभन्दा बढी सेवाग्राहीलाई श्रम कार्यालय ताहाचलले फर्काएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्