विप्लवका दाइसहितको टोलीबाट ६ पेस्तोल, गोली र गोप्य दस्तावेज बरामद

काठमाडौं , कात्तिक १ । प्रहरीले विप्लवका दाइसहितको टोलीबाट ६ पेस्तोल, गोली र गोप्य दस्तावेज बरामद गरेको छ ।

केहि दिन अगी नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका मध्यपश्चिम कमाण्ड इञ्जार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ सहित पक्राउ परेकाहरुबाट ६ वटा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । वीरजंग नेत्रविक्रम चन्द ‘विप्लव’का सहोदर दाइ पनि हुन् ।

दाङमा बुधबार राति विप्लव समूहको राप्ती ब्युरोको बैठक चलिरहेको बेला प्रहरीले घेरा हाली वीरजंगसहित २१ जनालाई पक्राउ गरेको थियो ।

व्युरोको बैठक राजपुर गाउँपालिका–४ स्थित मरेठा जंगलमा चलिरहेको थियो । मरेठामा धना जंगल छ । निकै विकट रहेको जंगलमा राति बैठक सुरु भएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट बरामद सामग्री बिहीबारसम्म सार्वजनिक गरेको थिएन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल दुई थान, लोड गरिएको म्यागजिन, चारवटा कटुवा पेस्तोल, ३०३ राइफलको पाँच राउण्ड गोली, एक थान सुतली बम बरामद गरेको छ ।

यस्तै आठौं पूर्ण केन्द्रीय समिति बैठकको राजनीतिक प्रस्ताव, परिपत्र, विभिन्न गोप्य दस्तावेज, पार्टीको छाप लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेका २१ जनाविरुद्ध नै संगठित तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्